26/08/2026
आज मिति २०८३/०४/१० गते बिहान रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा आएको विनाशकारी बाढीबाट भएको अपूरणीय जनधनको क्षति तथा उत्पन्न भएको दुःखद र विभत्स अवस्थाप्रति नेपाल इन्जिनियर एशोसिएसन, लुम्बिनी प्रदेश गहिरो दुःख व्यक्त गर्दछ। यस विपद्मा परी ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं तथा बेपत्ता हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र सकुशल उद्धारको कामना गर्दछौं। बाढी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार, घाइतेहरूको उपचार, राहत तथा आवश्यक मानवीय सहयोगलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा अगाडि बढाउन सम्बन्धित सरकारी निकाय, सुरक्षानिकाय तथा उद्धारकर्मीहरूमा हार्दिक अपिल गर्दछौं।
यस विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित हाइड्रोपावर आयोजनाहरूमा कार्यरत केही इन्जिनियर तथा प्राविधिक जनशक्तिहरू हालसम्म सम्पर्कमा नरहेको तथा उनीहरूको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको विषयप्रति नेपाल इन्जिनियर एशोसिएसन, लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। यस विषम परिस्थितिमा हाइड्रोपावर आयोजनामा कार्यरत इन्जिनियर, प्राविधिक तथा अन्य कर्मचारीहरूको तत्काल खोजी तथा उद्धारका लागि आवश्यक सुरक्षा तथा उद्धार संयन्त्र परिचालन गरी प्रभावकारी रूपमा खोज तथा उद्धार कार्य अगाडि बढाउन नेपाल सरकार, सम्बन्धित मन्त्रालय, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्धार टोली तथा सम्बन्धित हाइड्रोपावर आयोजनाहरूलाई हार्दिक अनुरोध गर्दछौं।
साथै, सम्पर्कविहीन तथा जोखिममा रहेका इन्जिनियर एवं प्राविधिक जनशक्तिको यथाशीघ्र खोजी गरी सकुशल उद्धार गर्न, प्रभावित क्षेत्रमा आवश्यक उद्धार सामग्री, हेलिकप्टर तथा अन्य आवश्यक स्रोत–साधनको प्रभावकारी परिचालन गर्न र उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दछौं। यस विपद्को घडीमा सम्पूर्ण इन्जिनियर, प्राविधिक तथा सम्बन्धित सरोकारवालाहरूको सुरक्षा एवं उद्धारका लागि नेपाल इन्जिनियर एशोसिएसन, लुम्बिनी प्रदेश सम्बन्धित सबै निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको व्यहोरा समेत अनुरोध गर्दछौं।
नेपाल इन्जिनियर्स एशोसिएसन, लुम्बिनी प्रदेश