24/11/2025
काउन्सिलरद्धारा भवनको निरीक्षण
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको सुविधा सम्पन्न निर्माणधिन शल्यक्रिया भवनको भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीतांजलि ब्रैंडनले अवलोकन तथा निरीक्षण गर्नुभएछ । भवनको निरिक्षण पछि आयोजित कार्यक्रममा बोल्दै काउन्सिलर ब्रैंडनले राप्ती आँखा अस्पतालले दृष्टिविहिन्ता न्यूनिकरणका लागि खेलेको भुमिका महत्वपूर्ण रहेको आफुलाई जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले आगामी दिनहरुमा पनि आफुहरु संस्था संगको विकासका लागि अन्य कार्यहरु गर्न अग्रसर रहने बताउनुभयो । ‘हामी तपाईको संस्थासंगको सहकार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिन अग्रसर छौं व्यवस्थापन समिति, पदाधिकारी तथा कर्मचारीहरुले दिएको हार्दिक स्वागतका लागि धन्यवाद दिन चाहान्छु – उहाँले भन्नुभयो ।’
सो क्रममा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीले भारतिय राजदुतावासको सहयोगमा राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन निर्माण हुन लागेको भन्दै यस्तै अन्य सहयोगका लागि साझेदारी गर्ने भन्दै धन्यवाद दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले भारत सरकारले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुत्नीय भएको भन्दै यो भौतिक संरचनाको निर्माण कार्य मात्र नभई लाखौं नागरिकको दृष्टि जोगाउने महत्वपूर्ण अभियानको एउटा कोसेढुंगा भएको बताउनुभयो ।
‘यो महत्वपूर्ण परियोजनाका लागि आवश्यक बजेट सहयोग प्रदान गर्नु हुने भारतीय सरकार तथा भारतीय राजदुताबासप्रति हामी ह्रदयदेखि नै आभार व्यक्त गर्न चाहन्छौं आगामी दिनहरुमा पनि आँखा स्वास्थ्य सेवा बिस्तारको लागि भारतीय राजदुताबास बाट यस्तै सहयोगको अपेक्षा समेत गर्दछौ उहाँले भनुभयो । ।
कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले भारतिय राजुदावासले आँखा स्वास्थ्य सेवाको विकासका लागि विभिन्न सहयोग गरेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयाे ।डा. थापाले आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गतका राप्ती आँखा अस्पताल, लमही र छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल र उपचार केन्द्रहरुले हाल सम्म दिएका सेवा, भावि कार्यक्रम, राप्ती आँखा अस्पतालको भावि गुरुयोजना,दृष्टिविहिन्ता न्यूनिकरणमा हाल भएगरेका प्रयास र सफताको विषयमा जानकारी गराउनुभएको थियो । तुलसीपुर उपमहानगरपालिका इन्जिनियर हिमाल शर्माले शल्यक्रिया भवनको कार्यप्रगति र हाल सम्म भएको भौतिक विकासको विषयमा जानकारी गराउनुभएको थियो ।
भारतीय राजदुतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा ४ करोड २४ लाखमा ३८ हजार मा शल्यक्रिया भवन निर्माण हुदैछ । CNS-RS- भिक्टोरिया जेभि काठमाण्डौले २०८३ बैशाखमा भवन निर्माण सम्पन्न गर्ने गरि निर्माणको जिम्मा पाएको छ । निर्माणको ६० प्रतिसत काम सम्पन्न हुदैछ ।