06/09/2026
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को प्रविधि संकायले भारतको गरुड एरोस्पेस प्रा.लि.बाट प्राप्त बहुउद्देश्यीय ड्रोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) लाई हस्तान्तरण गरेको छ।
रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN) को सहयोगमा प्राप्त उक्त ड्रोन नास्टको प्रविधि संकायमा एसेम्बल तथा परीक्षण गरी हस्तान्तरण गरिएको हो।
यो ड्रोन मूलतः ड्रोन क्षेत्रमा दीर्घकालीन अनुसन्धान, अध्ययन तथा क्षमता विकासका लागि उपलब्ध गराइएको हो। यसमार्फत ड्रोन सञ्चालन, मर्मत–सम्भार र तथ्याङ्क विश्लेषणसम्बन्धी जनशक्ति तालिम, विपद् व्यवस्थापनमा ड्रोन प्रविधिको प्रयोगसम्बन्धी अनुसन्धान तथा स्वदेशमै ड्रोन प्रविधि विकास गर्ने आधार तयार हुने विश्वास लिइएको छ।
तत्काललाई भने यो ड्रोन हालको अवस्थामा खोज तथा उद्धार, हवाई निगरानी र क्षति आकलनजस्ता कार्यमा सहयोगी हुने जनाइएको छ।